सरकारले सातै प्रदेशबाट छनोट भएका १४ जना किसानलाई ‘राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कार २०८१’ प्रदान गरेको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयको आयोजनामा राष्ट्रपति भवन शीतलनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरूलाई सम्मानित गरे।
पुरस्कृत किसानहरुः
- कोशी प्रदेश: सुरेशकुमार मेहता (आर्य कृषि फर्म) र रमेश साह (रमेश कृषि फर्म)
- मधेस प्रदेश: भरतकुमार यादव (शम्भुनाथ माछा फर्म) र हिराबहादुर थापा मगर (निजगढ केरा एग्रिकल्चर)
- बागमती प्रदेश: चेतप्रसाद ढकाल (कालिका पशु विकास केन्द्र) र दयाराम मचामसी (ग्रिनलाइन एग्रो प्रालि)
- गण्डकी प्रदेश: छिरिङढोका गुरुङ (ङवाङ हिसी अर्गानिक फर्म) र बाटुली तिवारी (मित्र वाटिका कृषि फर्म)
- लुम्बिनी प्रदेश: जयपाल मौर्य (खाद्यान्न बाली) र सुवास कुर्मी (शान्ति उन्नत पशुपालन तथा माछा फर्म)
- कर्णाली प्रदेश: गोविन्द ओली (तरकारी खेती) र भरतनाथ योगी (सुन्तला खेती)
- सुदूरपश्चिम प्रदेश: प्रेमप्रसाद जोशी (खप्तड पशुपन्छी तथा कृषि फर्म) र लोकबहादुर थापा (कैलाशेधरी कृषि तथा पोल्ट्री फर्म प्रालि)

पुरस्कार राशिः प्रत्येक किसानलाई नगद २ लाख रुपैयाँसहित सम्मानपत्र प्रदान गरिएको हो।
समारोहमा राष्ट्रपति पौडेलले कृषिमा युवा आकर्षण बढाउने गरी स्टार्टअप कार्यक्रम ल्याउनुपर्ने र विदेशबाट फर्केका युवाको सीपलाई उपयोग गर्न वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए। साथै, किसानको समस्या समाधान, बीउबिजन तथा मल आपूर्ति, आधुनिक उपकरण उपलब्धता, कर्जा र बीमा व्यवस्था राज्यले प्राथमिकतामा राख्नुपर्ने बताएका थिए।
कृषिमन्त्री रामनाथ अधिकारीले पुरस्कार कार्यक्रमले कृषि पेशालाई आत्मसम्मान र सम्भावनाको बाटोका रूपमा स्थापित गरेको बताउँदै यो दिनलाई प्रेरणादायक क्षणको रूपमा उल्लेख गरे।
कार्यक्रम ‘राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कार कार्यक्रम कार्यान्वयन कार्यविधि २०८१’ अनुसार सञ्चालित भएको हो।